काठमाडौं।नेपाल प्रहरीले आफ्नो ३२औँ महानिरीक्षक (आईजीपी) को रूपमा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई नेतृत्व सुम्पिएको छ। यससँगै किराँत समुदायबाट दोस्रोपटक प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुग्ने ऐतिहासिक अवसर बनेको छ।
यसअघि वि.सं. २०१० देखि २०१२ (December 1953 – August 1955) सम्म ज्ञानबहादुर यख्तुम्बा नेपाल प्रहरीको महानिरीक्षक बनेका थिए। लिम्बु समुदायका यख्तुम्बाले प्रहरी प्रशासनलाई आधुनिक, पारदर्शी र अनुशासित बनाउने आधारशिला राखेका थिए। प्रहरी सेवासँगै उनी प्रजातन्त्र स्थापनामा सक्रिय रहेर राणाशासन अन्त्य गर्ने आन्दोलनमा पनि अग्रपंक्तिमा देखिएका थिए। पछि उनी कूटनीतिक जिम्मेवारीमा समेत नेपाललाई सम्मानजनक ढंगले प्रतिनिधित्व गर्दै बर्मा र ल्हासामा राजदूत बनेका थिए।
उक्त गौरवशाली यात्रापछि करिब सात दशकपछि किराँत समुदायको अर्को प्रतिनिधि चन्द्रकुवेर खापुङ IGP बनेका छन्। तीन दशकभन्दा लामो सेवायात्रामा उनले अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका जिम्मेवारी इमान, निष्पक्षता र परिणाममुखी शैलीमा पुरा गरेका छन्।
यद्यपि उनको कार्यकाल २६ कात्तिक २०८२ सम्म छोटो रहनेछ, तर खापुङले पारदर्शिता, अनुशासन र जनविश्वासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रहरी नेतृत्वमा किराँत समुदायको दोस्रो आगमनलाई मात्र व्यक्तिगत उपलब्धि नभई समान अवसर र विविधतामूलक प्रतिनिधित्वको ऐतिहासिक संकेतका रूपमा लिइएको छ। यसले भविष्यका नेतृत्वमा समुदायगत सन्तुलन र प्रेरणाको आधार थप्ने विश्वास गरिएको छ।