यस पटकको बारको चुनाव सरकारी भर्सेस कानुन व्यवसायीको उम्मेदवारः वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौं।वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता रमणकुमार श्रेष्ठले यस पटकको नेपाल बार एशोसिएशनको निर्वाचन सरकारी उम्मेदवार भर्सेस कानुन व्यवसायीको उम्मेदवार रहेको बताएका छन् ।

आज (मंगलबार) जिल्ला अदालत बार झापामा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि कानुन व्यवसायीले सरकारी उम्मेदवारलाई मत नदिने बताए । आगामी चैत २३ गते हुने बार एशोसिएशनको निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले आफू कानुन व्यवसायीको वास्तविक उम्मेदवार रहेको बताए ।

अहिले डीएलए र पीपीएलएको गठबन्धन सरकारले बनाइदिएको उनले बताए । यस्तो गठबन्धनले बार र कानुन व्यवसायीको हित गर्न नसक्ने उनको दाबी छ । उनले कानुन व्यवसायीहरु आफ्नो पक्षमा रहेको समेत दाबी गरे ।

‘यस पटकको चुनाव सरकारी उम्मेदवार भर्सेस कानुन व्यवसायीको उम्मेदवार । त्यो दुईवटा कोलिसन साँच्चै नै भएको भए यहाँ कोही चुनाव लड्न आउनुपर्ने जरुरी छ ? डीएलएको संख्या निश्चित छ, पीपीएलएको संख्या निश्चित छ । तर, रमण श्रेष्ठ किन यहाँ आएको भने मसँग कानुन व्यवसायीहरु छन् । पार्टी होईन मेरो पक्षमा । सबै व्यवसायीहरु मेरो पक्षमा हुनुहुन्छ । डीएलएका साथीहरु खुल्न चाहुनु भएको छैन, पीपीएलएका साथीहरु खुल्न चाहनु भएको छैन । तर, उहाँहरु मेरो पक्षमा हुनुहुन्छ,’– उनले भने ।

Comments (0)
Add Comment