तीज पर्वको अवसरमा दैलेखीहरुको भव्य मेला तथा विशाल भेला सम्पन्न

काठमाडौँ।तीज पर्वको विशेष अवसरमा दैलेखी सेवा समाजद्वारा आयोजित भव्य मेला तथा विशाल भेला कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षामा तथा सूचना प्रविधि समितिका सभापति माननीय अमरबहादुर थापाले दैलेखी समुदायको यस्तो भेला हाम्रो समाजलाई अझ नजिक ल्याउने र दुःख–सुखमा साथ दिने अवसर भएको बताएका थिए। उनले जहाँ बसे पनि आफ्नी भाषा, संस्कार र संस्कृति जोगाउन सबै दैलेखीहरुले ध्यान दिनुपर्नेमा जोड दिए।

विशेष अतिथिहरूमा माननीय सूर्यकुमारी श्रेष्ठ, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी,माननीय कुन्ती शाही,नरबहादुर हमाल, जनगायक जीवन शर्मा, गायिका सपना शाही, बालगायिका ‘बाला खाईमा दिल बस्यो’ गीतकी तेरेसा विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले आफ्नो मन्तव्यमा संस्कार, संस्कृति, भेषभूषा र पहिचानलाई जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए। उनले भने, “आफ्नो पहिचान बचाए मात्र हाम्रो अस्तित्व बच्छ।”

कार्यक्रममा कलाकार सपना शाही, जीवन शर्मा, तेरेसा विश्वकर्मा लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो भने सञ्चारकर्मी संगिता थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन्। उपस्थित सम्पूर्ण अतिथिहरूलाई दर खुवाउने व्यवस्था समेत गरिएको थियो।

कार्यक्रमलाई सहभागीहरूले निकै नै सफल र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

Comments (0)
Add Comment