
- Advertisement -
काठमाडौं–“आदिवासी जनजातिको अधिकारको निम्ति सशक्त संघर्ष गरौं, ल्होमीशिङसावा जातिको मौलिक पहिचानको संरक्षण गरौं” भन्ने मूल नाराका साथ ल्होमीशिङसावा कल्याण केन्द्र, काठमाडौँ महानगरपालिका–६ बौद्धको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपाको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को महासन्धि १६९ र संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ सम्बन्धी अन्तरक्रिया तथा गोष्ठी २०८२ सफलता पूर्वक सम्पन्न भएको छ।



- Advertisement -
कार्यक्रमको उद्देश्य आदिवासी जनजातिका अन्तर्राष्ट्रिय रुपमा प्रत्याभूत अधिकारहरूको बारेमा सचेतना फैलाउनु र तिनको कार्यान्वयन सुनिश्चित गर्न सरोकारवालाबीच समन्वय तथा संवाद प्रवर्द्धन गर्नु थियो।
कार्यक्रमका प्रमुख अतिथि को रुपमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान का सदस्य सचिव ज्ञानेन्द्र पुन मगर, बिशिष्ट अतिथिमा विद्वान बरिष्ठ अधिवक्ता शंकर लिम्बू र ल्होमी महिला मंन्च का निवर्तमान् अध्यक्ष छिङ्चिप्पा थिकेपा ल्होमी रहेको थियो।
बरिष्ठ अधिवक्ता शंकर लिम्बु ले ILO महासन्धि १६९ को सैद्धान्तिक तथा व्यवहारिक पक्षहरूबारे प्रशिक्षण दिँदै नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई व्यवहारमा उतार्न ढिलाइ हुनु चिन्ताजनक भएको बताए। उनले राज्य संरचनाभित्र आदिवासी जनजातिका पहिचान र अधिकारहरूलाई सुनिश्चित गर्न राजनीतिक इच्छाशक्ति आवश्यक भएको उल्लेख गरे।



- Advertisement -
कार्यक्रममा स्वागत मन्तव्य दिंदै ल्होमी महिला मञ्चकी उपाध्यक्षले “आदिवासी भन्नाले के बुझिन्छ?”, “नेपालले ILO १६९ मा हस्ताक्षर गरेपछि पनि यसको प्रभावकारी कार्यान्वयन किन भएको छैन?” भन्ने प्रश्न उठाइन्। उनले ल्होमीशिङसावाहरू मात्र नभई सम्पूर्ण आदिवासी जनजातिहरूको समृद्धिको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै, समुदायभित्रैका केही व्यक्तिहरूले सामाजिक संजालमा भ्रम फैलाइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आदिवासी समुदायको समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायहरूलाई गम्भीर र परिणाममुखी कदम चाल्न आग्रह गरे।


कार्यक्रमका सभापति तथा ल्होमीशिङसावा कल्याण केन्द्रका अध्यक्ष ल्हाक्पा आङजुक सेक्नेपेदेन ले “हामी आफैं भित्रका केही व्यक्तिहरूले हाम्रो पहिचान मेटाउन खोजिरहेका छन्,” भन्दै, उनीहरूलाई आत्ममूल्यांकन गर्न आग्रह गरे। उनले सामाजिक सञ्जालमा झुटा भ्रमहरू नफैलाउन र सत्यको बाटो समातेर एकजुट भएर अघि बढ्न आह्वान गरे।
त्यसैगरी, तिरुपति स्कूल एण्ड कलेजका प्रिन्सिपल तेन्जिङ भोटियाले “अब राजनीति भन्दा माथि उठेर भोटखोला शिङ्सा समुदायको समुन्नतिका लागि युवा पुस्ताले नेतृत्व लिनुपर्छ,” भन्ने धारणा राखे। उनले ४० वर्षमुनिका युवाहरूलाई समुदायको नेतृत्वमा सक्रिय हुन आह्वान गरे।
आदिवासी संगठनका सदस्यहरूले भोटखोलामा पर्यटन विकासको सम्भावना औँल्याउँदै, यसका लागि पहिचानको संरक्षण र सामाजिक चेतनाको प्रसार आवश्यक रहेको बताए।
कार्यक्रमको सांगीतिक प्रस्तुति चरणमा गायक छिरिङ भोटिया ले “मेरो जस्तो मुटु” गीतकार/गायक गुरु भोटिया ले “क्षिट्ट ङिङ्ब” र गायक वाङ छिरिङ भोटिया ले “लिङगम को डाडा मा चिसो हावा सरर” गीतहरु प्रस्तुत गर्दै कार्यक्रमको माहोल सांस्कृतिक रूपमा समृद्ध बनाएका थिए।

- Advertisement -

